यस्ता छन् राष्ट्रिय सभामा निर्वाचित हुने सम्भावित उम्मेदवार

10

काठमाडौं, माघ ११ – राष्ट्रिय सभा सदस्यमा ५६ सदस्यका लागि ८३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये प्रदेश १, २, ५ र ७ बाट १७ सदस्य निर्विरोध निर्वाचित भएका छन् । २४ माघमा हुने निर्वाचनका लागि नौ दलबाट समूहगत रूपमा महिला २६, अन्य २८, दलित १४ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १५ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारको अन्तिम नामावली १४ माघमा सार्वजनिक हुनेछ भने १५ माघमा निर्वाचन चिह्न प्रदान गरिनेछ ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम प्रत्येक प्रदेशबाट खुला तीन, महिला तीन, दलित एकजना र अपांग वा अल्पसंख्यक समुदायबाट एक गरी आठ–आठ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये दलित र अपांग वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने सदस्य बहुमतीय प्रक्रियाबाट निर्वाचित हुनेछन् । यी समुदायबाट एकजना मात्रै निर्वाचित हुने भएकाले मत सर्न नपाउँदा बहुुुुमतीय भएको हो । तीन खुला र तीन महिला सदस्य एकल संक्रमणीय प्रणालीबाट निर्वाचित हुनेछन् ।

प्रदेश ३ मा समस्या
मतभारको आधारमा प्रदेश ६ बाहेक हरेक प्रदेशमा कांग्रेसबाट दुईजना सदस्य निर्वाचित हुन सक्नेछन् । प्रदेश ३ मा साझा विवेकशील र राप्रपाले समर्थन गरेको अवस्थामा कांग्रेसले दुई सिट जित्नेछ । साझाले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ, तैपनि वाम गठबन्धनले ८ वटै सिट जित्ने दाबी गरेर आठजनाको उम्मेदवारी दिएको छ । एमाले नेता प्रदीप ज्ञवालीका अनुसार प्रदेश ३ मा आठ सिट जित्नलाई करिब २ सय मतभार पुग्दैन, तर राप्रपा, साझा, नेमकिपा र नयाँ शक्तिको करिब ४ सय मतभारलाई क्रस गराई आठवटै जित्ने रणनीति छ ।

मत क्रस गराउन मिल्छ
राष्ट्रिय सभा निर्वाचन मतदानमा मत क्रस गर्न सकिन्छ । मतदाताले आफ्नो स्वविवेकले गोप्य मतदान गर्ने भएकाले दलको ह्विपविपरीत मतदान पनि गर्न सक्नेछन् । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीका अनुसार एकल संक्रमणीय प्रणालीमा मतगणनामा नियतवश बदमासी गर्न सकिने र बदमासी भएको सहजै थाहा पाउन गाह्रो हुन्छ । बदमासी भएको थाहा भएमा मतगणना सुरुबाट नै गर्नुपर्ने हुन्छ ।

दुई रंग, चार प्रकारका मतपत्र
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको मतपत्र दुई रंगका बनाउने भएको छ । आयोगका अनुसार प्रदेश सभा सदस्यका लागि एउटा रंगको हुनेछ भने स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि अर्को रंगको मतपत्र हुनेछ । उनीहरूको मतभार फरक भएकाले रंग फरक बनाइएको हो । आयोगले मतपत्र भने चार प्रकारका हुने जनाएको छ । खुला सदस्य, महिला सदस्य, दलित सदस्य र अपांग वा अल्पसंख्यकमा गरी चार प्रकारका मतपत्र बनाउन लागिएको हो ।

मतपत्रमा उम्मेदवारको नाम
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपत्रमा राष्ट्रिय सभाका उम्मेदवारको नाम हुनेछ । पार्टीको निर्वाचन चिह्न र उम्मेदवारको क्रमसंख्या पनि हुनेछ । एकल संक्रमणीय प्रणालीमा मतदान हुने सदस्यका लागि मतदाताले पहिलो, दोस्रो र तेस्रो गरी प्राथमिकता तोकेर मतदान गर्नुपर्नेछ । र, त्यसै आधारमा मत सर्छ । उम्मेदवारको प्राथमिकता भने दल आफैँले तोकेर आफ्ना मतदातालाई मतदान गर्न भन्नेछ । आयोगको मतपत्रमा क्रमशः कांग्रेस, एमाले र माओवादीका उम्मेदवारको नामको वर्णानुक्रमअनुसार हुनेछ । मतपत्रको दाहिनेतर्फ उम्मेदवारको प्राथमिकता तोक्ने एउटा कोठा हुनेछ । उक्त कोठामा उम्मेदवारले नेपाली अंकमा उम्मेदवारलाई प्राथमिकता अंक १, २ र ३ लेख्नुपर्नेछ ।

पहिलो प्राथमिकता नतोके मत बदर
आयोगका प्रवक्ता ढकालका अनुसार मतदाताले पहिलो प्राथमिकता तोकेर मतदान नगरे उक्त मत बदर हुनेछ । बहुमतीय प्रणालीमा निर्वाचित हुने दलित सदस्य र अपांग वा अल्पसंख्यकको हकमा नभई एकल संक्रमणीय प्रणाली लागू हुने तीन खुला सदस्य र तीन महिला सदस्यका हकमा प्राथमिकता तोकेरै मतदान गर्नुपर्नेछ । आजको नयाँ पत्रिकामा खबर छ ।

Loading...
शेयर

तपाईंको जबाफ